प्रकाश दाहालको स्मृति दिवस : गम्भीर पिता, अर्धचेत आमा र विह्वल पत्नी

२०७५ मंसिर ३ सोमवार
1.7K
shares
काठमाडौं । कम्युनिष्ट नेता तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा छोरा प्रकाश दाहालको प्रथम स्मृति दिवसमा आज प्रचण्डनिवास खुमलटारमा आज एक कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा सबैजसो दलका शीर्ष नेताहरु उपस्थित थिए । स्वर्गीय दाहालको स्मृतिमा आज सबै नेताहरुले उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।
कार्यक्रममा उपस्थित स्वर्गीय प्रकाशका पिता पुष्पकमल दाहाल निकै गम्भीर मुद्रामा देखिन्थे । युवा अवस्थाको छोरा गुमाउनुपर्दाको पीडा उनको अनुहारमा झल्किन्थ्यो तर देशप्रतिसमेत आफ्नो जिम्मेवारीको बोधले उनी त्यो पीडा लुकाउन प्रयासरत थिए । बिह्वल मनलाई सम्हाल्न खोज्दा उनी निकै गम्भीर देखिएका थिए ।
सँगै रहेकी प्रकाशकी आमा सीता दाहाल सुरुमा निकै विह्वल थिइन् । सभामा वक्ताहरुले स्वर्गीय प्रकाशबारे बोल्दा उनको मातृत्वले जित्थ्यो र उनी आँसु रोक्न पटक पटक आँखा बन्द गरिरहेकी थिइन् । छोरालाई श्रद्धाञ्जली दिने क्रममा उनी अत्यन्तै विह्वल भइन् । श्रद्धाञ्जली दिने क्रममा अर्धचेतजस्तै भएकी उनलाई अरुले सहारा दिनुपरेको थियो ।
प्रकाशपत्नी बिना मगर निकै भावविह्वल थिइन् । उनी निरन्तर रोदनमिश्रित मुहारका साथ थिइन् । श्रद्धाञ्जली दिने क्रममा भने उनी भक्कानिइन् र निकै रोइन् । कार्यक्रममा उपस्थित सबै पाहुनाहरु पनि शोकमग्न थिए । सोही कार्यक्रममा स्वर्गीय प्रकाश दाहालको स्मृतिग्रन्थ समेत बिमोचन गरियो ।

२०७५ मंसिर ३ सोमवार