राप्रपा एकतामा नयाँ मोडल : असन्तुष्ट समूहको अर्कै तयारी

5.08K
shares

काठमाडौं । ३ राप्रपाका ३ अध्यक्ष सम्मिलित अध्यक्ष मण्डल र ३ तहको केन्द्रीय संरचनासहित एकीकरण सम्पन्न गर्नुपर्ने नयाँ बहस राप्रपावृत्तमा आरम्भ भएको छ । राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच एकीकरण भएको १ वर्षमा महाधिवेशन सम्पन्न गर्ने, महाधिवेशन सम्पन्न नहुन्जेलको संक्रमणकालमा ३ अध्यक्षले ४–४ महिना गोलाप्रथाबाट आलोपालो अध्यक्षता गर्ने मोडल छलफलमा छ ।

एकता मोडलको प्रारम्भिक मस्यौदा अनुसार विधान, झण्डा र चुनाव चिह्न महाधिवेशनले तय गर्नेछ । एकीकृत दलको राजनीतिक दर्शन सम्वर्द्धनवादी उदारवाद हुनेछ । त्यसमा परम्परागत संस्था ९राजसंस्था०, शक्ति, संस्कृति, इतिहास सहितको उदारवाद समेटिने छ । समावेशी शक्ति सन्तुलनमा आधारित मोडल राप्रपा एकता महाअभियान अन्तर्गत ३ वटै राप्रपाका नेता, कार्यकर्ताका सामूहिक छलफलबाट तय भएको बताइन्छ ।

‘विचार सिद्धान्तमा सम्झौता नगरी सबैको हैसियत कायम गरेर सबै राप्रपाहरू एक हुनुपर्छ । यसमा दुइमत छैन । नयाँ युवा पुस्ता र महिला, दलित, मुस्लिम, जनजातिजस्ता पिछडिएका वर्ग क्षेत्र नेतृत्व तहमा समावेश गरेर यस्तै छलफल र बहसको माध्यमबाट राष्ट्रवादी अभियान अगाडि बढाइनुपर्छ,’ एकीकृत राप्रपा ९राष्ट्रवादी० का महामन्त्री श्याम तिमल्सिना भन्छन् ।

३ वटै राप्रपा स्थापनाको पृष्ठभूमि राष्ट्रियता, राजसंस्था, हिन्दू धर्म, संसदीय प्रजातन्त्र, निजी सम्पत्तिमाथिको अधिकारजस्ता राजनीतिक दर्शनमा आधारित छ । राष्ट्रिय एकताका लागि दलगत राजनीतिभन्दा माथि उठेको संवैधानिक राजसंस्था सहितको हिन्दू अधिराज्य राप्रपा एकीकरणको साझा आधार बन्नुपर्ने धारणा रहेको छ । राप्रपा नामधारी पार्टीका कुुनै पनि पक्ष, गुट, समूह एकता प्रक्रियामा छुट्न नहुने गरी प्रक्रिया अगाडि बढेको जनाइएको छ ।

‘फेरि नफुट्ने गरी पार्टी एकता हुनुपर्छ । नेता, कार्यकर्ता सबैको सहभागिता र स्वामित्व रहने, खुला, पारदर्शी, प्रजातान्त्रिक एकीकरण प्रक्रियाबाट दर्बिलो एकता निर्माण गर्नु आवश्यक छ,’ राप्रपा (प्रजातान्त्रिक) का सहमहामन्त्री सगुन सुन्दर लावतीले भने ।

प्रजातान्त्रिक राष्ट्रवादी शक्तिको आवश्यकता परीपूर्ति गर्न ३ राप्रपाको एकता हुनुपर्ने राप्रपाका नेता जयन्त चन्दले बताए । ‘हालसम्म जारी प्रयासलाई सकारकात्मक निष्कर्षमा पुर्याउन उपयुक्त हुनेछ,’ उनले भने ।

असन्तुष्ट समूहको अर्कै तयारी 

केन्द्रीय समितिमा २ सय ३१ सदस्य संख्या रहने छन् । प्रत्येक दलले जिल्लामा नेतृत्व गरेका १–१ जना प्रतिनिधित्व हुने गरी ७७ जनाको दरले सदस्य मनोनयन गर्नेछ । जिल्ला तहका समितिमा भने ३ वटै दलका कार्यकर्ता संयुक्त रुपमा समावेश गरी महाधिवेशन सञ्चालन गरिने छ ।
राप्रपा पृष्ठभूमिका युवा तथा असन्तुष्ट पक्षले शीर्ष तहमा एकता नभएको खण्डमा आफ्नै ढंगले एकता गर्ने पहल पनि थालेको छ ।

पशुपतिशमशेर नेतृत्वको राप्रपा (प्रजातान्त्रिक), डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपाका अध्यक्ष कमल थापासँग असन्तुष्ट नेताबीच पार्टी एकता पहल थालिएको छ । त्यसका लागि तीनै पार्टीका २० नेताले लबिङ गर्दै आएका छन् । असन्तुष्ट समूहका नेता दिलनाथ गिरीले पार्टी एकताको विकल्प नभएको भन्दै त्यसका लागि पहल भइरहेको बताए ।

अहिले एकतामा भाँजो हाल्ने कमल थापा भएको भन्दै उनले उनी बिनै पनि एकता हुने र उनी एकतामा सहभागी नभए कार्यकर्ता र जनताबाट एक्लिँदै जाने दाबी गरे । राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीले पनि पार्टी एकता छिट्टै हुने बताएका छन् । आइतवार आयोजित एक कार्यक्रममा उनले कुनै पनि हालतमा पार्टी एकता हुने र एकता नचाहनेहरू अब एक्लिँदै जाने दाबी गरेका थिए ।