लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको स्रोतले पुग्दैनः अर्थमन्त्री

6.29K
shares

रुपन्देही। अर्थमन्त्री डा. युवराज खतिवडाले लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट मात्र सम्भव नहुने बताएका छन्। उनले त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन लुम्बिनी विकास कोष र सरकारको तर्फबाट पहल गरिने बताए।

मन्त्री डा. खतिवडाले तीन वर्षभित्र गुरुयोजना पूरा गर्ने लुम्बिनी विकास कोषको लक्ष्यलाई सरकारले सहयोग गर्ने बताए। यद्यपि गुरुयोजना पूरा गर्ने सबै खर्च सरकारले कोषलाई तीन वर्षभित्रै उपलब्ध गराउन नसक्ने उनले प्रष्ट पारे। विश्वको ध्यान लुम्बिनीतर्फ आकर्षिक गर्न यहाँ विश्व समुदायकै सहयोग आवश्यक छ उनले भने। संविधानले व्यवस्था गरेअनुसार मौलिक हक कार्यान्वयनमै राज्यको ठूलो रकम खर्च हुने भएकाले पहिलो प्राथमिकता त्यसलाई दिइने मन्त्री खतिवडाको भनाइ थियो।

यसअघि लुम्बिनी विकास कोषका पदाधिकारीसँगको छलफलमा मन्त्री खतिवडाले स्रोतको सीमाभित्र रहेर योजना बनाउन र विवादरहित ढङ्गले सक्रियतापूर्वक काम गर्न कोषलाई आग्रह गर्नुभयो। सो अवसरमा कोषका पदाधिकारीले लुम्बिनी गुरुयोजना पूरा गर्न भइरहेका प्रयास र समस्याका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए। कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य र सदस्य सचिव सरोज भट्टराइले अर्थमन्त्री खतिवडालाई स्वागत गर्नुभएको थियो। मन्त्री खतिवडाले लुम्बिनीको मायादेवी मन्दिर, केन्द्रीय नहर, सङ्ग्रहालय र निर्माणाधीन ध्यान केन्द्रको अवलोकन गरेका थिए।

मन्त्री डा. खतिवडाले बारा र पर्सामा भएको हावाहुरीको घटनामा सङ्घीय सरकारको मापदण्डभन्दा पनि माथि गएर प्रदेश सरकारकाले राहत दिने घोषणा गरेकाले सङ्घीय सरकारको तर्फबाट राहतका लागि कुनै निर्णय गर्न जरुरी नदेखिएको बताए। उनले घाइतेको निःशुल्क उपचार र भत्किएका संरचनाको पुनःनिर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083