सम्भव होला एक वर्षभित्र नेकपाको महाधिवेशन
वि.सं.२०७६ वैशाख १० मंगलवार ११:२४
shares

काठमाडौं।पार्टी एकता भएको करिव एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको सत्तारुढ दल नेकपाले आगामी एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको छ।
सोमबार कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर जिल्ला अध्यक्ष र सचिव घोषणा गर्न आयोजित कार्यक्रमा नेकपा अध्यक्ष प्रचण्डले आगामी एक वर्षभित्र महाधिवेशन गर्ने बताएका हुन्। एक वर्षभित्र महाधिवेशन गर्ने बताएपनि नेकपाले मिति भने तय गरेको छैन।
गत जेठ ३ गते पार्टी एकीकरण कार्यक्रममा तीन महिनाभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न गर्ने बताइएको थियो। तर पार्टी ११ महिनासम्म आन्तरिक किचलोमा रुमलिएको थियो।
पार्टी एकता भएको लामो समयपछि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले ७७ जिल्लाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ।
प्रचण्डले आगामी एक वर्षभित्र महाधिवेशन गर्ने बताएपनि त्यो संभव नहुने नेताहरुले बताएका छन्। महाधिवेशन भए निर्वाचित भए एक जनामात्र अध्यक्ष हुन्छन्। त्यस्तो अवस्थामा अध्यक्ष केपी ओली प्रमुख दाबेदार हुने निश्चित छ।
प्रधानमन्त्री र अध्यक्ष ओली नै हुने अवस्थामा प्रचण्ड र माधव नेपाल समूहले तत्काल महाधिवेशन गराउन सहमत होलान् भन्न सकिँदैन, नाम उल्लेख नगर्ने शर्तमा एक नेताले भने, ‘तीन नेताबीच पहिला नै सहमति नभएसम्म महाधिवेशन हुने कुरामा विश्वास गर्न सकिँदैन।
अझै भातृ संगठन र जनवर्गीय संगठनको एकताको काम अगाडि बढ्न सकेको छैन। जिल्ला नेताको व्यवस्थापन गरेपछि केही सहज भएपनि भातृ संगठन र जनवर्गीय संगठनको एकता पूरा नभएसम्म महाधिवेशन हुने संभावना नरहेको एक नेताले जनाए।
नेकपाभित्र प्रमुख तीन नेताहरु हावी हुँदै आएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको गुट नेकपामा सक्रिय छ। महाधिवेशन हुने अवस्थामा तीन जना नेता अध्यक्षका दाबेदारी हुनेछन्।
तत्कालको समिकरण हेर्दा सबैभन्दा शक्तिशाली र बहुमतमा केपी ओली समूह देखिन्छ।
पार्टी अध्यक्ष र प्रधानमन्त्री हुँदा पार्टीमा पनि पकड राख्न सकिने भएकाले ओलीले एक पटक निर्वाचित अध्यक्ष बन्ने इच्छा राख्नु स्वभाविक मानिन्छ। माधव नेपालले पनि आफू एमालेको महासचिव भएपनि अध्यक्ष बन्न नपाएको भन्दै अध्यक्ष बन्ने चाहना यसअघि नै व्यक्त गरिसकेका छन्।
तर, प्रचण्डको सबैलाई मिलाउन सक्ने खुबी भएका कारण तीन जनामध्ये को अध्यक्ष बन्न भनेर अनुमान गर्न गाह्रो हुने एक नेताले बताए।
यद्यपी लामो समयसम्म एकता प्रक्रिया अगाडि नबढ्दा निरास बनेका कार्यकर्ता एकता प्रक्रिया अगाडि बढेपछि भने उत्साहित भएका छन्।
नेकपा पार्टी स्थापना दिवसको अवसरमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले एकता प्रक्रिया अगाडि बढेकाले कार्यकर्ताहरुलाई उत्साहका साथ लाग्न निर्देशन दिए।


















