चर्चित अर्थमन्त्री भरतमोहन : वृद्धभत्ता देखि ‘आफ्नो गाउँ आफैं बनाऔं’सम्म!
वि.सं.२०७५ फागुन १९ आइतवार १३:२२
shares

काठमाडौँ। नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा तथा पूर्व-उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ। लामो समय देखि श्वासप्रश्वास र निमोनियाबाट ग्रसित अधिकारीको उपचारको क्रममा शनिबार राति ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो।
“डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि यही नारा आत्मसाथ गर्दै युवा स्वरोजगार कार्यक्रम ल्यायो। २०६७ मै अर्थ मन्त्रालय सहित २१ दिन उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका अधिकारीले नै नेपालको उर्जा संकट सम्बन्धी श्वेतपत्र जारी गरेका थिए। जुन अहिले पनि विद्युत विकासमा मार्ग-दर्शक बनिरहेको छ।”
राजनीतिक आरोह
भरतमोहन अधिकारी चार पटकसम्म नेपालको अर्थ मन्त्री बनेका थिए। अधिकारी पहिलो पटक २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारमा अर्थमन्त्री हुँदा वृद्ध भत्ता र ‘आफ्नो गाउँ आफै बनाऔं ’ जस्ता लोप्रिय कार्यक्रम ल्याएर चर्चित बनेका थिए।
उनी पहिलो पटक अर्थमन्त्री हुँदा कम्युनिष्ट माथि लागेको आरोप चिर्दै अधिकारीले बजेट भाषण मार्फत ७५ वर्षदेखि माथिका जेष्ठ नागरिकलाई प्रतिमहिना १०० रुपैयाँका दरले बृद्धभत्ता प्रदान गर्ने, ‘गाउँ–गाउँमा सहकारी, घरघरमा रोजगारी’ जस्ता लोकप्रिय कार्यक्रमको शुरुवात गरेका थिए। तत्कालीन एमालेको पहिलो सरकारकै बेला अधिकारीले ‘आफ्नो गाउँ आफै बनाऔं’ र ‘नौ स’ को अभियान पनि शुरु गरेका थिए।
वि. सं. २०५१ को पुसमा पुरक बजेट ल्याएका अधिकारीले २०५२ मा पूर्ण बजेट ल्याएका थिए। दोश्रो पटक २०५६ सालमा गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको अन्तरिम चुनावी सरकारमा उनी अर्थमन्त्री बने।
त्यस्तै, २०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा तत्कालीन नेकपा एमालेको तर्फबाट सरकारको नेतृत्व गर्दै अधिकारी तेश्रो पटक नेपालको अर्थमन्त्री बनेका थिए। तेश्रो कार्यकालमा अधिकारीले राष्ट्रिय विभूति र राजनेताको नाममा सडक नामाकरण, हेटौंडा काठमाडौं सुरुंग मार्ग, सडकको दुवै किनारमा वृक्षरोपण गर्ने जस्ता कार्यक्रम ल्याएका थिए।
तत्कालीन राजा ज्ञानेन्द्रको माघ १८ को ‘कू’ पछि घरमै नजरबन्दमा परेका अधिकारी ३ महिना पछि नजरबन्द मुक्त भए। वि.सं. २०६२/०६३ को राजनीतिक आन्दोलन र परिवर्तन पछि संविधानसभाको पहिलो चुनावमा समानुपातिक निर्वाचन प्रणालीबाट सभासद निर्वाचित अधिकारी झलनाथ खनाल नेतृत्वको सरकारमा २०६७ माघमा चौथो पटक उपप्रधान तथा अर्थमन्त्री बने।
यो अवधिमा अधिकारीले बजेट मार्फत सुत्केरी भत्ताको सुरुवात गरे। सुत्केरी शुल्क निशुल्क रू ६०० बाट शुरु गरिएको भत्ता अर्को आर्थिक वर्षमा एक हजार पुर्याइएको थियो। अहिले यो भत्ता बढेर तराईमा एक हजार र पहाड तथा हिमाली जिल्लामा एक हजार पाँच सय पुगेको छ।
यही अभियानबाट नेपालको मातृ तथा बाल मृत्युदर घटेको भन्दै संयुक्त राष्ट्रसंघले नेपाललाई अवार्ड समेत प्रदान गरेको थियो। यही कार्यकालमा अधिकारीले महिला सशक्तिकरणको लागि विशेष अभियानको घोषणा गरेका थिए।
जसमा महिलाको नाममा वा श्रीमान–श्रीमतीको संयुक्त नाममा जग्गा पास गर्दा रजिष्ट्रेशन शुल्क एक सय रुपैंया मात्र कायम गरियो। जसबाट तराई र सुदुर पश्चिमका महिला बढी लाभान्वित बने। त्यस्तै, गाउँ–गाउँमा सहकारी घर-घरमा रोजगारी अभियान अधिकारीले नै शुरु गरेका थिए।
डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि यही नारा आत्म साथ गर्दै युवा स्वरोजगार कार्यक्रम ल्यायो। २०६७ मै अर्थ मन्त्रालय सहित २१ दिन उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका अधिकारीले नै नेपालको उर्जा संकट सम्बन्धी श्वेतपत्र जारी गरेका थिए। जुन अहिले पनि विद्युत विकासमा मार्ग-दर्शक बनिरहेको छ। अधिकारीले तेश्रो पटक मन्त्री हुंदा बाहेक सबै कार्यकालमा उनले ४ पटक बजेट भाषण गरेका थिए।
“राजनीतिक दलमाथि प्रतिबन्ध लागेको पञ्चायतकालमा पनि उनी साईकल चढेर गाउं–गाउंमा कम्युनिष्ट पार्टीको पर्चा वितरण पनि गर्थे। तत्कालीन नेकपाका महासचिव केशरजंग रायमाझीले राजाको सेवा गर्न थालेपछि अधिकारीले २०१९ मा नेकपाको तेस्रो महाधिवेशन गराउन पहल गरे।”
राजनीति र आन्दोलन
अधिकारीले वि.सं. २००८ सालमा १६ बर्षको उमेरमा भारतको बनारसमा हुँदा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। लगत्तै उनले २००८ मा गठन भएको आर्दश विद्यालयको छात्र संघको अध्यक्ष चुनिए। अधिकारीकै नेतृत्वमा २००७ सालमा विराटनगरको जुद्ध स्कुलको बोर्ड ढुंगाले हानेर कुच्याएर आर्दश स्कुलको बोर्ड राखिएको थियो।
वि.सं. २०४८, २०५१ र २०५६ मा मोरङबाट प्रतिनिधि सभामा विजयी अधिकारी पहिलो संविधान सभामा समानुपातिक सभासद निर्वाचित भएका थिए। वि.सं. २०१५ सालमा कम्युनिष्ट पार्टीको मुखपत्र नवयुगको सम्पादकको भूमिका निभाएका अधिकारी २०१७ साल पुस १ मा राजा महेन्द्रले प्रजातन्त्र विरुद्ध ‘कु’ गरेपछि, सोभियत संघमा पीएचडी पढ्न पाएको छात्रबृत्ति त्यागेर सकृय राजनैतिक संघर्षमा लाग्नु भएको थियो। अधिकारीले २०१८ सालदेखि नेकपाको कोशी प्रान्तीय कमिटीको सचिव बनेर पूर्वमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका थिए।
राजनीतिक दल माथि प्रतिबन्ध लागेको पञ्चायतकालमा पनि उनी साईकल चढेर गाउं–गाउंमा कम्युनिष्ट पार्टीको पर्चा वितरण पनि गर्थे। तत्कालीन नेकपाका महासचिव केशरजंग रायमाझीले राजाको सेवा गर्न थालेपछि अधिकारीले २०१९ मा नेकपाको तेस्रो महाधिवेशन गराउन पहल गरे। जसमा पुष्पलाल श्रेष्ठ, तुलसीलाल आमत्यसहित देशभर बाट एक सय बढी क्रान्तिकारीहरु सहभागी भएका थिए।
नेकपाको तेस्रो महाधिबेशन बाट पोलिटव्यूरो सदस्य निर्वाचित अधिकारी २०४७ सालमा तत्कालीन माले र मार्क्सवादीलाई एकीकरण गराएर एमाले बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेताका रुपमा पनि चिनिन्छन्। २०४६ को पञ्चायत विरुद्धको आन्दोलनमा बाममोर्चा गठनमा सक्रिय रुपमा भूमिका खेलेका अधिकारीकै पहलमा सात वटा बाम घटकहरु एक भएर संयुक्त बाममोर्चा निर्माण गरी पञ्चायत विरुद्धको आन्दोलन सफल बनाउन कांग्रेस सँग सहकार्य भएको थियो।
कम्युनिष्ट पार्टीको छैठौं, सातौं र आठौं महाधिवेशनबाट लगातार स्थायी कमिटीमा निर्वाचित अधिकारीले २०७१ को असारमा काठमाडौंमा भएको तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट पार्टीको कुनैपनि जिम्मेवारी नलिने स्वैच्छिक अवकाशको घोषणा गरेका थिए। पटक–पटक मन्त्री भएका अधिकारीले अर्थ, कानून, उर्जा, निर्माण वाणिज्य तथा आपुर्ति मन्त्रालय सम्हालेका थिए।
शिक्षण र वकालत
राजनीति बाहेक शिक्षण र वकालत पेशा पनि उनको जीवनको अर्को पाटो हो। विराटनगरको मोरङ क्याम्पसमा करिब २ वर्ष शिक्षण पेशा गरेका अधिकारीले सोही अवधिमा वलकात पनि गरेका थिए।
सबै राज्यले गर्नुपर्छ र सबै अधिकार बजारलाई छाड्नुपर्छ भन्ने दुवै अतिवादी चिन्तनको विचारबाट अधिकारीले राज्य, सहकारी र नीजि क्षेत्र ‘थ्री पी’को तीन खम्बे अर्थ नीति अंगिकार गर्न नेतृत्व पनि गरेका थिए। बजेटमा सामाजिक कार्यक्रमहरु समावेश गर्ने जस पनि भरत मोहनलाई नै जान्छ।
पछिल्लो समय स्वास्थ्य अवस्थाका कारण राजनीतिमा खासै सक्रिय नरहे पनि अधिकारीले आफू पुनः एक पटक अर्थमन्त्री बन्ने अभिलाषा प्रकट गर्दै आएका थिए। जीवन कालको पाँचौं पटक अर्थमन्त्री बनेमा २०५१ देखि २०६८ सम्म उनले सुरु गरेका योजनाहरुलाई मूर्त रुप दिई देशको समृद्धिमा योगदान दिने सपना सपनामै सीमित बनेको छ।
पारिवारिक पृष्ठभूमि
अधिकारीको जन्म बुबा रामचन्द्र अधिकारी र आमा पूर्णकुमारी अधिकारीको कोखबाट वि.सं. १९९३ वैशाख २२ गते महोत्तरीको भ्रमरपुरा गाउँमा भएको हो। अधिकारी नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ हुन्।
कृष्णमोहन, जगतमोहन उनका दाजु हुन्। सुशीला अधिकारी उनकी बहिनी हुन्। पूर्व उपप्रधानमन्त्री अधिकारीले भारतको इलाहावादबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी बनारसको हिन्दू विश्वविद्यालयबाट राजनीति शास्त्र, दर्शन शास्त्र र अर्थशास्त्रमा बिए उत्तीर्ण गरेका थिए।
उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थ शास्त्रमा एमए र कानूनमा बिएल उनले उत्तीर्ण गरे। अधिकारीको पत्नी ओम कुमारी अधिकारी पनि राजनीति मै सक्रिय छन्। अखिल नेपाल महिला संघको विभिन्न पदको जिम्मेवारी समालि सक्नु भएकी अधिकारीकै साथको कारण आफु राजनीतिमा सफल बनेको भरत मोहनले बेला बेला बताउने गर्थे।
उनको लुना अधिकारी (बस्नेत), लिमा अधिकारी (आचार्य) र लिजा अधिकारी गरी ३ छोरी छन्। ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासन जीवन बिताएका अधिकारी पटक पटक गरी ३ वर्ष जेल समेत बसेका थिए।
अधिकारीका नेपालमा औद्योगीकरणका समस्या नामक पुस्तक त्रिभुवन विश्वविद्यालयको स्नातोकोत्तर तहको पाठ्यक्रममा समेत समावेश छ। जुन अर्थशास्त्र विषयका विद्यार्थीहरुले पढ्दै आइरहेका छन्। अधिकारीको मेरो जीवन-यात्रा र संसद देखि संविधान सभासम्म कृति प्रकाशित छन् भने उनले भारत, संयुक्त राज्य अमेरिका, चीन, बेलायत र फ्रान्स लगायतका देशको भ्रमण गरेका थिए।






























