डीआईजी गोविन्द थपलियाद्वारा जिल्ला प्रहरी कार्यालय महोत्तरीको निरीक्षण
प्रहरीलाई सेवामुखी र अनुशासित बन्न निर्देशन
वि.सं.२०८३ जेठ २४ आइतवार २०:५७
shares

महोत्तरी । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया ले जिल्ला प्रहरी कार्यालय महोत्तरीको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निरीक्षणका क्रममा डीआईजी थपलियाले कार्यालयको भौतिक पूर्वाधार, शान्ति–सुरक्षाको अवस्था, अपराध नियन्त्रणका गतिविधि तथा प्रशासनिक कार्यसम्पादनको सूक्ष्म अवलोकन गर्नुभएको थियो। साथै उहाँले कार्यालयका विभिन्न शाखा तथा अभिलेखहरूको समेत निरीक्षण गर्नुभएको जनाइएको छ।

निरीक्षणपश्चात आयोजित कार्यक्रममा महोत्तरी तथा मातहतका प्रहरी युनिटका प्रमुखहरू र कार्यरत प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै डीआईजी थपलियाले व्यावसायिकता, अनुशासन र नागरिकमैत्री सेवालाई प्राथमिकतामा राखेर कार्य गर्न निर्देशन दिनुभयो।
उहाँले प्रहरी कार्यालयहरूमा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सेवा प्रवाहमा कुनै पनि प्रकारको बिचौलियाको प्रभाव स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। प्रहरी संगठनप्रति जनविश्वास बढाउन पारदर्शी, निष्पक्ष र जिम्मेवार ढंगले सेवा दिनुपर्ने उहाँको भनाइ थियो।
डीआईजी थपलियाले समाजमा शान्ति सुरक्षा कायम राख्न तथा आपराधिक गतिविधिहरू नियन्त्रण गर्न ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो। अपराध नियन्त्रण, अनुसन्धानको गुणस्तर अभिवृद्धि तथा समुदाय–प्रहरी साझेदारीलाई थप सुदृढ बनाउन पनि उहाँले जोड दिनुभएको थियो।
कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूले संगठनको नीति, निर्देशन तथा जनअपेक्षा अनुरूप जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। निरीक्षण कार्यक्रमले प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि तथा नागरिकमुखी सेवा प्रवाहलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।































