‘मणि’ हराएका मणि

मन्त्री थापालाई लागेको छ, ओलीको ‘राष्ट्रवाद’ ले नेपाली राजनीतिमा नयाँ सुरूवात हुन्छ । तर त्यो नयाँ सुरूवात के हो भन्नेमा उनी अलमलमै छन् ।

Nepal Life Insurance Long Ad

बिनु सुवेदी

काठमाडौँ — ‘आधी रातमा हुरी चल्दा
आँधीबेहरी तुफान चल्दा
कालो, नीलो आकाशमुनि
मुसलधारे पानी पर्दा
म त्यहीं आउनेछु साथी, म त्यहीं आउनेछु…’

मनको एउटा कुनामा आन्दोलित हुँदै गरेको कम्युनिस्ट राजनीतिको राग र अर्कोपट्टि मुलुकको ठूलो कलाकार बन्ने सपनाको सानो पोको बोकेर २०३५ सालमा काठमाडौं छिरेका मणि थापा आफूसित छुटेर गएपछि उनकै यादमा माथिको गीत लेखेका हुन्, जीवन शर्माले ।

मोहनविक्रम सिंहको मसालमा आबद्ध भएसँगै कलाकार शर्मा र थापाको आत्मीयता गहिरिएको थियो । तर २०५१ मा थापाले पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा आबद्ध हुने निर्णय गरे, शर्मा मसालमै रहे । योसँगै यी दुई मित्रहरू छुट्टिए, कालीगण्डकीका दुई किनाराजस्तै । उतिखेर शर्मालाई छाडेका थापा अहिले आफूले गरिरहेको ‘निष्ठा’ को राजनीतिलाई थाती राखेर अलिकति बरालिएका छन् । यसमा उनका आफ्नै तर्क छन् ।

कहिले आफ्नै नेतृत्वको चर्को आलोचना, कहिले सत्ताको खबरदारी गर्दै कला, साहित्य र राजनीतिक यात्रा गरेर यहाँसम्म आइपुग्दा थापाको छवि सोलोडोलोमा ‘विद्रोही’ थियो । त्यसैले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेर उनकै मन्त्रिपरिषद्का सदस्य बनेका थापाबारे धेरैले आश्चर्य प्रकट गरे । उनलाई कान्तिपुरले पनि यही प्रश्न गरेको थियो । उनले भने, ‘तपाईंले गरेको प्रश्न मैले आफैंलाई सोधिहेरें, दुई रातसम्म निद्रा लागेन, पछि यस्तै निर्णय गरियो ।’

२०३१/३२ सालतिर प्यूठान जिल्लामा हुने सांस्कृतिक कार्यक्रममा थापा जहिले पनि एक नम्बरमा आउँथे । उनका बुबा रामचन्द्र कम्युनिस्ट आन्दोलनमै भए पनि उनको मोह कलाकारितामा थियो । ‘म देशको ठूलो कलाकार बन्ने लक्ष्य बोकेर काठमाडौं आएको हुँ,’ थापाले भने, ‘राजनीतिक हिसाबले सचेत परिवारमा हुर्किएकाले मैले राजनीतिलाई पनि सानैदेखि बुझ्ने मौका पाएँ ।’

पछि उनी आफ्नै मामा मोहनविक्रमको पार्टी नेकपा मसालमा आबद्ध भए । २०३५ सालको विद्यार्थी आन्दोलनमा कलाकार रामेश र रायनहरूका गीत सुनेपछि उनको ध्यान जनवादी गीत/संगीततिर मोडियो । भूमिगत हुँदा पनि थापाले युद्धकालीन गीत/संगीतमै धेरै ध्यान दिए, त्यही मोर्चा सम्हाले । ‘राजनीतिक नेतृत्व मैले कहिल्यै लिइनँ, साहित्यकार, कलाकार हुने नै मेरो लक्ष्य थियो,’ थापाले भने, ‘तर पार्टीभित्र हामी कवि, कलाकारहरूको कहिल्यै मानसम्मान भएन ।’

विश्वका पुराना कम्युनिस्ट पार्टी र लेखक/साहित्यकारबीच द्वन्द्व चल्नु नयाँ कुरा हुँदै होइन । चीनमा प्रख्यात लेखक लु सुनको कुरा कम्युनिस्ट पार्टीसँग कहिल्यै मिलेन । मेक्सिम गोर्कीसँग लेनिनको बाझाबाझ हुन्थ्यो । लेनिन त गोर्कीलाई अराजकतावादी नै भन्थे ।

‘मोहनविक्रम सिंहसँग मेरो कुरा मिलेन, प्रचण्ड कमरेडसँग पनि मिलेन,’ केही दिनअघि एक साँझ थापाले कान्तिपुरलाई सुनाए, ‘कम्युनिस्ट पोलिटिसियन शासकजस्ता, गीत/संगीतमा काम गर्ने हामी शासित जस्ता भयौं । माओवादी आन्दोलनमै लागेका खुसीराम पाख्रिनले उत्पीडन सहनुभयो, मैले सहें, माइला लामाको पनि हालत उही छ ।’ सायद उनी लामो उत्पीडनको प्रतिक्रियास्वरूप नै नेकपा दुई कित्तामा हुँदा ओलीतिर उभिएका हुन्, जुन उभ्याइलाई स्वयं थापाले नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ कोर्स भनेर बुझेका छन् ।

‘जनयुद्ध’ को सुरुवातदेखि नै पुष्पकमल दाहाल र बाबुराम भट्टराईका दुई खेमा हुँदा थापाले भट्टराईलाई साथ दिए । तर १२ बुँदे समझदारीप्रति असहमति जनाएर माओवादीको मूल धार छाडेका उनी माओवादीमा भने भट्टराईले पार्टी त्याग गरेपछि मात्रै फर्किए ।

‘थापाजी जनयुद्धकालमा प्रचण्डभन्दा बाबुराम नै नैतिकवान हो भन्नुहुन्थ्यो,’ कलाकार प्रदीप देवानले भने, ‘तर प्रचण्ड र बाबुराम सँगै हुँदा मणिजी माओवादीमा फर्किएर आउनुभएन । उहाँहरू फुटेपछि प्रचण्डतिर किन जानुभयो भनेर अचम्म लागेको थियो । अहिले फेरि केपी र प्रचण्डको अन्तसंघर्ष हुँदा उता जानुभयो । अचम्ममा परेको छु ।’ युद्धकालीन गीत/संगीतमा थापा र देवानको सहकार्य लामो छ । ‘समाज अवसरवादी छ, हामी पनि अवसरवादी नै छौं, किनभने हामी यही समाजका उत्पादन हौं,’ देवानले भने, ‘यसबाट मणि थापा पनि अछूतो रहनुभएन ।’

थापा भने आफूसँग गरेका सहमति पालनामा दाहाल उदासीन रहेको र पछिल्लो समय राष्ट्रवादका सन्दर्भमा ओलीको अडान मन परेको हुनाले आफू त्यता लागेको जिकिर गर्छन् । ‘यता लाग्नुको अर्को पनि कारण छ, प्रचण्डजीले हामी कलाकर्मीको दुःख बुझ्नुभएन,’ उनले थपे, ‘मणिजी जहिले पनि भावनामा बग्नुहुन्छ, भावनावादी हो भनेर उहाँले भन्नुहुन्थ्यो, त्यसको ठीकविपरीत प्रधानमन्त्रीजीले हामी कलाकर्मीलाई बुझ्नुहुन्छ भन्ने त मलाई नै मन्त्री बनाएबाट पनि प्रमाणित भयो नि ।’

‘जनयुद्ध’ का बेला दाहाल र भट्टराईबीच अन्तरसंघर्ष प्रायः चलिरहन्थ्यो । समकालीन राजनीति बुझ्ने र योजना बनाउने सन्दर्भमा थापा जहिले पनि भट्टराईको पक्षमा हुन्थे । त्यतिखेर थापाकै भनाइमा दाहाल खेमाले भट्टराईलाई प्रतिपक्षमा राख्यो तर उनको बौद्धिकताको दोहन गर्‍यो । २०६१ को चुनबाङ बैठकमा भट्टराईले आफू दाहालको विचारमा विलीन भएको बताएपछि थापाले त्यसको विरोध गरे । ‘कम्युनिस्टमा विलीन भन्ने हुँदैन, त्यो शून्यवाद हो भनेर मैले बाबुराम भट्टराईको निर्णयको विरोध गरें,’ थापा भन्छन् ।

लगत्तै पार्टी कारबाहीमा परेका उनी र रवीन्द्र श्रेष्ठले दिल्ली पुगेर पार्टी छाडेको घोषणा गरे । त्यतिखेर सात दल र माओवादीबीच भएको १२ बुँदे शान्ति सम्झौता राष्ट्रघात हो भन्ने लाइन थापाको थियो । त्यसैले पनि उनीहरूले नेकपा माओवादी छाडेर नेकपा माओवादी सांस्कृतिक क्रान्ति समूह बनाए, आफ्ना राजनीतिक गतिविधि त्यहाँबाट सञ्चालन गर्न थाले । जब माओवादी पार्टी कमजोर बन्यो त्यतिखेर थापा, मातृका यादव, रामबहादुर थापासहितको छुट्टाछुट्टै समूह फेरि माओवादीमै फर्कियो । ‘दोस्रो संविधानसभामा माओवादीको हार भयो, त्यसमाथि बाबुराम र मोहन वैद्यले पनि पार्टी छाडेकाले प्रचण्डलाई साथ दिएपछि माओवादीको धार बच्छ कि भनेर आएका हौं,’ थापाले भने, ‘तर त्यो कोर्समा प्रचण्डलाई ल्याउन सकिएन ।’

हुन पनि मणि थापाहरू फर्किएर आउँदा तत्कालीन माओवादीका ‘मणि’ भट्टराई, वैद्य र नेत्रविक्रम चन्दहरूले साथ छाडिसकेकाले दाहालको माओवादी ‘बुच्चै’ थियो । ‘तपाईं आफैं भन्नुस् न बाबुराम, वैद्य र रामबहादुर थापाबिनाको माओवादी आन्दोलन सफल हुने सम्भावना थियो र ?’ थापाले भने, ‘तैपनि माओवादीको लिगेसी बचाउन सकिन्छ कि भनेर हामी मूलधारमा आयौं तर प्रचण्डजीले माओवाद नै विघटन गरिदिनुभयो, पार्टी एमालेलाई बुझाउनुभयो ।’

माओवादी केन्द्रको ३३ सदस्यीय हेडक्वाटरमा नेकपा एकीकरणका बेला अहिले एमालेसँग मिल्न हुन्न, कम्तीमा १० वर्षमा माओवादी पार्टी फेरि उठ्न सक्छ भन्ने मत राख्ने थापा एक्ला थिए । त्यतिखेरै हो थापालाई ‘तपाईंको र मेरो जक्सन (दोबाटो) मा कुरा मिल्दैन’ भनेको । ‘त्यतिखेर म एकताको पक्षमा थिइनँ तर भइसकेपछि एकता कायम गर्नुपर्छ र नेकपा बचाएर लानुपर्छ भन्ने मेरो लाइन भयो,’ थापाले भने, ‘प्रचण्डहरूले ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने भनेपछि हामी ओलीतिर लागेका हौं । पार्टी एकताको सन्दर्भमा प्रचण्डभन्दा ओली अलि धेरै इमानदार देखिए, यही कुराले पनि मैले ओलीलाई समर्थन गरें ।’

तत्कालीन माओवादी र पछि नेकपाभित्र अवसर नै नपाउने नेताहरूको सूची बनायो भने थापा अग्रपंक्तिमा आउँथे । २०७४ को प्रतिनिधिसभा चुनावमा समानुपातिक सांसदको मनोनयनमा परे पनि तत्कालीन माओवादीलाई परेको एकमात्रै खस/आर्य समुदायको पुरुषले पाउने सांसद गोरखाका चूडामणि खड्काले पाए । खड्का दाहालका स्वकीय सचिवका रूपमा लामो समय काम गरेका व्यक्ति हुन् ।

पार्टीका आन्तरिक छलफलमा पनि दाहालले आफूहरूको बेवास्ता गर्दै आएको गुनासो थापाको थियो । जब कसैले अवमूल्यन गरिरहन्छ, सधैं त्यहीं किन बस्नु र भन्ने भाव सायद थापाको मनमा पनि आयो होला । पार्टी दुई चिरा परेलगत्तै उनलाई मन्त्री बन्ने प्रस्ताव पनि आयो । तर राजनीतिक निष्ठा र अडानमा अडिग रहनुपर्छ भन्ने मान्यताले उनलाई दुई रातसम्म निदाउन दिएन ।

‘मनमा कुरा खेलाएरै दुई रात छर्लंग भयो,’ थापाले सुनाए । ‘कस्ता कुरा ?’ कान्तिपुरको प्रश्नमा उनले भने, ‘अहिले तपाईंले जे प्रश्नहरू सोध्नुभयो, त्यस्तै । मलाई अरूले के भन्लान्, पार्टीले के भन्ला, आन्दोलन कहाँ जाला, मलाई आज आएर अवसरवादीको आरोप लाग्यो भने के गर्ने ?’

फेरि उनलाई त्यही पुरानै प्रश्न गरियो, ‘हिजो प्रचण्डमा विलय भएँ भनेर बाबुरामको कटु आलोचना गर्ने तपाईं आज आफ्नो राजनीतिक धार नै नमिल्ने ओलीसित किन विलय हुनुभयो ?’ थापाले भने, ‘प्रतिनिधिसभा विघटन राजनीतिक र ट्याक्टिकल कुरा हो । मुख्य कुरा कम्युनिस्ट आन्दोलन हो । वैचारिक प्रश्न नेपालको राष्ट्रवाद हो, त्यसमा ओली छन् । त्यसैले मैले समर्थन गरेको हो । ओली पनि कमजोरीरहित नेतृत्व भने होइनन् ।’ थापालाई अहिले पनि लागेको छ, ओलीको ‘राष्ट्रवाद’ ले नेपाली राजनीतिमा नयाँ सुरुवात हुन्छ । तर त्यो नयाँ सुरुवात भनेको के हो भन्नेमा उनी अलमलमै छन् । उनले यतिमात्रै भने, ‘देख्नुभएन ओलीको पक्षमा कत्रो जनलहर छ ?’

थापा अहिले २०६१ को माओवादीको चुनबाङ बैठकपछिजस्तै दाहालको विपक्षमा खरो उत्रिरहेका छन् । ‘प्रचण्डको समकालीनलाई मिलाउन सक्ने ल्याकत भएन, प्रचण्ड, बाबुराम, मोहन वैद्य, बादलबिनाको धार जनयुद्धको धार हुन सक्दैनथ्यो,’ थापाले भने, ‘प्रचण्डजीले जनयुद्धको स्वामित्व लिन त खोज्नुभयो तर नसकेर छाडिदिनुभयो । उहाँले आफैंले बनाएको प्रचण्डपथ छाड्नुभयो, माओवाद छाड्नुभयो, उहाँ अस्थिरतामा रमाउनुभयो ।’ यसो भनिरहँदा स्वयम् थापाको ‘ट्र्याक रेकर्ड’ पनि कम्ती अस्थिर छैन । दाहाल र भट्टराईसँग असन्तुष्ट भएपछि शान्ति प्रक्रियामा आउनै लाग्दा माओवादीको मूलधार छाडे, माओवादी सांस्कृतिक केन्द्र बनाए । त्यसलाई निरन्तरता दिन सकेनन् ।

‘रेभ्युलेसनरी लेफ्ट विङ’ नामक पार्टी बनाए, त्यसलाई पनि निरन्तरता दिन सकेनन् । पार्टी छाडेको दसौं वर्षमा माओवादी केन्द्रमा फर्किए । एमालेसँग आफूहरूको धारै नमिल्ने भएकाले एकता हुन नहुने धारणा राखे । अहिले प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई आत्मसात् गर्दै उनकै मन्त्रिपरिषद्को मन्त्री बनेका छन् । तर थापा आफूले बल्ल सही निर्णय गरेको भन्दै सन्तुष्ट देखिन्छन् । अनि गलत जहाँ हुँदा पनि प्रश्न उठ्ने गरी बनेको त्यो पुरानो लिगेसी ?

‘ती मेरा पुराना गीत/संगीत र साहित्यजस्तै हुन्, इतिहास सम्झेर रोमाञ्चित हुन सकिन्छ, भविष्य निर्माण गर्न सकिन्न,’ उनले भने । तर राजनीतिको यो संक्रमणमा प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमको साक्षी बस्न उछिट्टिएर ओलीको कित्तामा पुग्नुको पछाडि अरू थुप्रै कारण सहायक होलान्, मुख्य कारणचाहिँ इमानदार नेता/कार्यकर्तालाई नेतृत्वले भाउ नै नदिनु हो, जुन पूर्वएमालेमा भन्दा पूर्वमाओवादीतिर धेरै छ

तर मणि थापाहरूमा पनि अवसरवादको झल्को आउनु लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो समस्या हो भन्नेमा उनका पुराना मित्र जीवन शर्मालाई पनि लागेको छ । ‘२०६२/०६३ पछि सरकारप्रति आकर्षण देखियो । सरकारमा जान पाए हुँदो हो भन्ने भयो । सत्ता पाउँदाको अवस्थामा खुसी हुने नत्र दुःखी हुने जस्तो भयो । मणिजीको पछिल्लो निर्णय पनि त्यसैको सिलसिला हो,’ शर्माले भने, ‘हुन त आ–आफ्नो विचारको कुरा हो । सबैका विचार समान हुन्छन् भन्ने पनि छैन, परिस्थितिको मूल्यांकन गर्ने आफ्नो दायरा हुन्छ ।

तर पछिल्लो कालमा अलि बढी नै भद्रगोलजस्तो देखियो, उछिनापाछिन जस्तो, मेसो नपाएको जस्तो देखियो ।’ हुन पनि सन्दुकमा थन्क्याउनुपर्ने मणि आँगनमा छाडिदिएपछि जसले भेट्टााउँछ, उसैले लैजान्छ । सायद त्यसैले नेपाली राजनीतिका थुप्रै ‘मणि’ को नियति मणि थापाकै जस्तै भइरहेको छ ।

१४ माघ २०७७, बुधवार ०९:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु