हल्लाकै भरमा शैक्षिक संस्था बन्द ! सधैं अबोध बालबालिकालाई किन बनाइन्छ हतियार ?

9.75K
shares

काठमाडौं । विद्यालय र विद्यार्थी जहिल्यै पनि हतियारको रुपमा प्रयोग हुँदै आएका छन् । पटक–पटक हुँदै आएको विद्यालय बन्दको राजनीतिले देशकै शिक्षा क्षेत्रलाई थिलथिलो बनाइसकेपनि यो प्रकिया रोकिएको छैन ।

विद्यालय क्षेत्र संवेदनशिल क्षेत्र भए पनि राजनीतिक दल वा अन्य आन्दोलनको त्रास यस क्षेत्रमाथि कतिसम्म गहिरो र व्यापक छ भने सानोतिनो बन्दको हल्लाकै भरमा पनि एकै पटक देशभरकै शैक्षिक संस्थासमेत बन्द हुन्छन् ।

आज सम्पूर्ण विद्यालय र शैक्षिक संस्थाहरु बन्द भएका छन् । आफ्ना कार्यकर्ता छुटाउनभन्दै नेकपा विप्लव निकट विद्यार्थी संगठनले गरेको हड्तालले झण्डै ७५ लाख विद्यार्थीको पढ्न पाउने हक कुण्ठित भएको छ ।

यस वर्षमात्रै नेकपा विप्लव समूहलगायतले ५ पटकसम्म विद्यालय बन्द गरिसकेका छन् । उक्त समूहले गत वैशाख २२ गते, जेठ २१ गते, असार ३ गते, साउन २९ गते र गएको भदौसमेत आजको बन्द छैठौं पटक भएको हो । आज राजधानीमा थुप्रै विद्यार्थी बिहानको झरीका बावजुद् विद्यालय जानका लागि बाटोमा निस्केका थिए । तर, विद्यालय बन्दको कुरा थाहा पाएपछि घर फर्किन बाध्य भए । एक दिन विद्यार्थी विद्यालय नजाँदा त्यसको व्यवस्थापनका लागि अभिभावक मारमा पर्ने गरेका छन् ।

विद्यार्थी संगठनले मात्रै होइन कतिपय समयमा शिक्षकहरुले समेत आफ्ना माग पूरा गराउन विद्यार्थीलाई नै हतियार बनाएको पाइन्छ । राहत शिक्षक केन्द्रिय समितिले भदौ महिनामा ३ दिने शैक्षिक संस्थान बन्दको आह्वान गरेको थियो । शिक्षकहरुलेसमेत आफ्ना माग पूरा गराउन विद्यालय र विद्यार्थीलाई नै निशाना बनाउने गरेको शिक्षाविद्हरु बताउँछन् ।

सरकारकै निर्देशनमासमेत विद्यालय बन्द

सरकारको निर्देशनमै पनि विद्यालय बन्द भएका नेपालमा उदाहरण छन् । विमस्टेक चौथो शिखर सम्मेलनमा सुरक्षाको कारण देखाएर भदौ महिनाको १४ र १५ गते विद्यालयहरु बन्द गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको थियो । शैक्षिक सत्र २०७५को वैशाखदेखि असोजसम्ममा मात्रै ९ देखि १० पटकसम्म विद्यालय बन्द भएका छन् । निरन्तरको बन्दले विद्यालय शान्ति क्षेत्र हो भनेर सरकारले गरेको घोषणाकै खिल्ली उडाउने काम गरेको छ ।

असोज महिनामै अदालतको आदेशको अवहेलना हुनेगरी आफ्ना पार्र्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत नेताहरूलाई पक्राउ गरी जिल्ला घुमाउने काम गरिएको विरोधमा विप्लब समूहले बन्द आह्वान गरेको थियो ।

बन्दको असर बजार र यातायातमा भने देखिएको थिएन । तर, उपत्यकाभरका लगभग सम्पूर्ण विद्यालय र शैक्षिक संस्थाहरु बन्द गरिएका थिए । विद्यार्थी बोकेको एउटैपनि पँहेलो बस सडकमा गुड्न सकेनन् ।

सानोतिनो राजनीतिक प्रभावलेसमेत शैक्षिक संस्थाहरु बन्द हुँदा विद्यार्थीको पढ्ने अधिकार कुण्ठित भएको शिक्षामन्त्रालयले समेत स्वीकार गरेको छ । तर यस विषयमा कुनै ठोस कदम भने सरकारले चालेको छैन ।

पटक–पटकको बन्दले विद्यार्थीलाई मार्का परेको स्वीकार गर्दै शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले भने, ‘‘शान्ति सुरक्षाको प्रस्ताव सबैले स्वीकार गरिसकेका छन् । यस विषयमा आपसी छलफल गरेर समस्याको सामाधान गर्नु पर्ने आवश्यकता छ ।’’

शिक्षा मन्त्रालयका प्रवक्ता अर्यालले विप्लब समूहले यस शैक्षिक सत्रभरी गरेको यो तेस्रो बन्द रहेको बताए । उनले अन्य राजनीतिक कारणले समेत विद्यार्थीहरुको पढाई कुण्ठीत हुँदै आएको बताउँदै भने, ‘‘यस शैक्षिक सत्रभरी मात्रै विभिन्न कारणले आठदेखि दश पटकसम्म विद्यालयहरु बन्द गरिएका छन् ।’’

शिक्षा मन्त्रालयले नै बिमस्टेकको समयमा सुरक्षाको कारण देखाएर विद्यालय बन्द गरेको थियो । सरकारले नै बन्द गर्नुभन्दा पनि विकल्पतिर जानु पर्ने थिएन र ? भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता अर्याल भन्छन्,‘‘ बिमस्टेकको बेला शैक्षिक संस्थाहरु वास्तवमा बन्द गर्नुपर्ने आवश्यकता नै थिएन । हामीले मात्रै सबैलाई आग्रह गरेर पनि नहुने । शैक्षिक संसथाहरु बन्द गर्न पाईदैन । यस विषयमा सबै सरकोकारवाला निकायहरु छलफलमा बस्नुपर्छ ।’’

निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा भन्छन्,‘‘हामीले वर्षौदेखि सरकारसँग आशा गरेका छौं । विद्यालयलाई राजनीतिक वा अन्य स्वार्थको आन्दोलनमा लागेर बन्द नगर्ने सबैबाट ठोस धारणा आउनुपर्ने उनले बताए ।”

उनले अभिभावकहरुले यो बन्द केका लागि, किन भनेर सोधेपनि आफूहरु जहिल्यै निरुत्तर हुने गरेको बताए । उनी भन्छन् ‘‘आन्दोलनकारीको माग हामीसँग लक्षित नै छैन । हामीसँग माग भएको भए हामीले केही गथ्र्यौ । तर मागहरु त राज्यतिर लक्षित हुन्छन् । राज्यलाई सुनाउनको लागि विद्यालय र शैक्षिक संस्थाहरुलाई सधैंभरी माध्यमका रुपमा प्रयोग गरिँदै आएको छ ।’’

हल्लाकै भरमा बन्द !

निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयहरु आजभोलि हल्लाकै भरमा बन्द भइरकेको स्वीकार्छन् । उनी भन्छन्,‘‘ बन्दकर्ताहरुसँग हामीले अनुरोध मात्रै गर्न सक्छौं । किनभने विद्यालय र कलेजहरु संवेदनशील क्षेत्र हुन् । शैक्षिक संस्था खोल्नलाई वातावरण चाहिन्छ । त्यसमा पनि यातायात प्रयोग गर्ने विद्यालयको हकमा एकदमै अपठ्यारो हुन्छ ।’’

अध्यक्ष सापकोटा भन्छन् ,‘‘आजभोलि इन्टरनेट, फेसबुकजस्ता माध्यमबाट बन्दको कुरा आइसक्छ । त्यो कुरालाई कति आधिकारिक मान्ने वा नमान्ने आफ्नै ठाउँमा छ । तर, कुनै अमुक संगठनले आफ्नो प्रेस विज्ञप्तिसहित त्यहाँ ट्याग गरिदिएपछि अरु मान्छे सूसुचित हुन्छन् । यसरी शैक्षिक संस्थानहरु हल्ला र त्रासकै कारण बन्द गर्नु पर्ने बाध्यता छ ।’’
उनका अनुसार भदौ महिनामामात्रै ४ पटक विद्यालय बन्द भइसकेको छ ।

तर कुनै पनि सरोकारवाला निकायले बोलाएर यसरी बन्द हुने सुनियो तपाईंहरुले नगर्नुस् भन्ने अभिभावकत्व लिएको देखिएको छैन । न त जेसुकै भए पनि बन्द गर्न हुन्न, नगर्नुस् भनेर निर्देशन नै दिएको उनी बताउँछन् । अध्यक्ष सापकोटाले बन्दकर्तालाई बोलाएर ‘सबैमिलेर कुरा गरौं’ भन्नेसम्मको जिम्मेवारी पनि सम्बन्धीत निकायले नलिएको प्रति आक्रोश व्यक्त गरे ।

किन बन्द अवज्ञा गर्न डराउँछन् विद्यालय ?

प्याब्सनका अध्यक्ष सापकोटा भन्छन्,‘‘बालबालिकाको जीवनसँग रिस्क (खतरा मोल्न) लिन सकिदैंन । यो एकदमै संवेदनशिल क्षेत्र हो । हामीले संस्थानहरु खोल्ने वातावरण नमिलेर नै खोल्न नसकेका हौं,’’ उनले यसमा सबभन्दा ठूलो कमजोरी राज्यको रहेको बताए । उनले भने, ‘‘महानगरपालिकाको शिक्षा विभाग, नगरपालिका र गाउँपालिकामा भएको शिक्षाको युनिटलाई परीक्षाको शुल्क कता पठाउनेमा चासो देखिन्छ । तर, पाठनपाठन अबरुद्ध भइरहेको छ छैन, कसले किन गर्दैछ भन्ने बारे चासो दिइएको पाइदैन ।’’

अध्यक्ष सापकोटा भन्छन्,‘‘बन्द चाहे मेची–महाकालीको होस् । बन्दबाट प्रभावित हुने भनेको विद्यालय र शैक्षिक संस्थाहरु नै हुन् । बन्दको अवज्ञा गर्दै सबै कुरा यथावत चल्छन् । तर विद्यालय र क्याम्पस खुल्दैनन् । किनकि सबभन्दा संवेदनशील क्षेत्र हो त्यो ।’’ उनले त्यसैलाई हतियार बनाएर यहाँ सरकारसँग र सरोकारबाला सँग बार्गेनिङको राजनीति चलिरहेको बताए ।

उनले भने,‘‘ यसले के सन्देश दिन्छ भने नेपालका बालबालिका प्राथमिकता क्षेत्रमा पर्दैनन् । सरकारले बालबालिकालाई प्रथम प्राथमिकताको क्षेत्रमा राखेको जति नै भने पनि व्यवहारमा त्यो छैन । यसमा सरकार संवेदनशील नभएकाने देखियो । ’’

बन्दको असर

हात्तिबनस्थीत लिटिल एन्जल्स स्कुलमा अध्ययनरत कक्षा ९ कि छात्रा पिहू प्रियान्सा भन्छिन् ‘‘स्कुल बन्द हुँदा एकछिन् खुशी लाग्छ । तर पछि वर्क र प्रोजेक्ट पूरा गर्न निकै प्रेसर हुन्छ ।’’ पिहूकी आमा श्वेता कर्णदास भन्छिन् ‘‘विद्यालय प्रायः बन्द भइरहेकै हुन्छ । यसले पढाइ त प्रभावित हुन्छ नै । तर हामीले बन्दको दिनको पनि त शुल्क तिरिरहेका हुन्छौं ।’’ उनले भनिन्, ‘‘कहिले त लामोसमय नै विद्यालय बन्द हुन्छन् । तर हामीलाई विद्यालयले कहिल्यै एक पैसा छोडेको छैन ।’’ उनले पढाई छुट्दा परीक्षाको बेला बालबाबालिकामा झन तनाब बढ्ने बताइन् । उनको तर्क छ,‘‘राम्रो विद्यार्थीको झन नतिजा नै खस्कन्छ । त्यस विषयमा पनि त सरकारले अथवा सरोकारबालाले सोचिदिनु पर्छ ।’’

प्याब्सनका अध्यक्ष सापकोटाका अनुसार विद्यालय बन्द हुँदा विद्यार्थी खुशी हुने, कतिपय शिक्षक साथी पनि खुशी भएपनि नियमित वर्किङ डेमा बन्द हुँदा ओभारलोड र प्रेसर सबैलाई हुने बताउँछन् । उनले शिक्षण सिकाइको प्रक्रिया आजको भोली गर्छौं भन्ने नहुने बताउँदै भने, “त्यसमा क्रमबद्धता चाहिन्छ । नियमित बनाउनु पर्ने हुन्छ ।’’

यस विषयमा विद्यालयहरुले पटक पटकको बन्दले नियमित पठनपाठन अबरुद्ध हुने बताएका छन् । जसले गर्दा धेरै किसिमले असर पर्र्ने बताए । शिक्षकहरु योजना गरेर गइरहेका हुन्छन् तर त्यो सबै अस्तव्यस्त हुने उनको भनाई रहेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले विद्यालयलगायतका शैक्षिक संस्थाहरु डरले नै बन्द हुनेगरेको बताउँदै भने, ‘‘यस्ता सानोतिनो बन्दको डरबाट विद्यालयहरुलाई बाहिर निकाल्नु पर्ने आवश्यकता टड्कारो देखिएको छ ।’’


divya collage
unigloble collage