जावलाखेलमा रास्वपाका सांसदहरूलाई दुई दिने प्रशिक्षण सुरु
वि.सं.२०८३ वैशाख २६ शनिवार १४:३९
shares

२६ वैशाख, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। ‘सक्षम सांसद, सशक्त संसद्’ भन्ने नारासहित आयोजित उक्त प्रशिक्षण आजदेखि सुरु भएको हो।
प्रशिक्षणको औपचारिक उद्घाटन उपसभापति तथा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गरेका छन्। कार्यक्रममा सहभागी हुन पार्टीका सांसदहरू जावलाखेल पुगेका छन्।
रास्वपाका अनुसार संसद्लाई जनमुखी र प्रभावकारी बनाउने तथा सांसदहरूको कानुनी र नीतिगत दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित प्रशिक्षण आयोजना गरिएको हो। पार्टीले यस कार्यक्रमलाई सांसदहरूको क्षमता विकासमा महत्वपूर्ण कोसेढुङ्गा बन्ने अपेक्षा गरेको जनाएको छ।
पहिलो दिनको प्रशिक्षण सदन र सरकारबीचको अन्तरसम्बन्ध तथा संसदीय प्रक्रियामा केन्द्रित हुनेछ। यसअन्तर्गत पार्टी, सरकार र सदनबीचको समन्वयबारे महामन्त्री भूपदेव शाहले प्रशिक्षण दिनेछन्। त्यसैगरी संसदीय समितिहरूमा सांसदहरूको भूमिका विषयमा संसदीय दलका उपनेता गणेश पराजुलीले प्रस्तुत गर्नेछन् भने संसदीय अभ्यास र दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगीले अनुभव साझा गर्ने कार्यक्रम रहेको छ।
दोस्रो दिनको सत्र राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचन तयारीमा केन्द्रित रहनेछ। सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान र नैतिक आचरणबारे प्रशिक्षण दिनेछिन् भने परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाबारे जानकारी गराउनेछन्।
त्यसैगरी सह–महामन्त्री विपिन कुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक ढाँचा तथा पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्नेछन्।
प्रशिक्षणको समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ।
















