विगतका दलका कमजोरीबाट सिक्न कार्यकर्तालाई रविको आग्रह
वि.सं.२०८३ असार ७ आइतवार २१:५२
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुटको राजनीति नगरी एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक दलका कमजोरी र अनुभवबाट शिक्षा लिएर संगठनलाई थप मजबुत बनाउनुपर्ने बताए।
लामिछानेले पार्टीभित्र एकता कायम रहन सके रास्वपालाई कमजोर बनाउने शक्ति सहजै पैदा नहुने दाबी गरे। उनले संगठनभित्र आपसी विश्वास, सहकार्य र साझा लक्ष्यप्रति प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।
सभापतिले त्याग र बलिदानको मूल्यलाई सही ढंगले बुझ्नुपर्ने आवश्यकता पनि औँल्याए। अरूले गरेको योगदानको प्रशंसा गर्ने तर आफूले त्याग गर्नुपर्दा असहज महसुस गर्ने प्रवृत्तिबाट सचेत रहन उनले आग्रह गरे।
महाधिवेशनलाई पार्टीभित्र रहेका मतभेद, असन्तुष्टि वा वैमनस्यताको अन्त्य गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो। उनले संगठनलाई बलियो बनाउन व्यक्तिगत स्वार्थभन्दा पार्टीको साझा उद्देश्यलाई प्राथमिकतामा राख्न नेता–कार्यकर्तालाई आह्वान गरे।
लामिछानेले रास्वपाको आगामी यात्रा संगठनात्मक एकता, अनुशासन र सामूहिक नेतृत्वमा आधारित हुनुपर्ने उल्लेख गर्दै महाधिवेशनले पार्टीलाई अझ सशक्त र व्यवस्थित बनाउने विश्वास व्यक्त गरे।





























