सरकारको कामप्रति सत्तारुढ दलकै नेता ‘सापकोटा’को असन्तुष्टि
वि.सं.२०७५ मंसिर २ आइतवार १५:०५
shares

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता अग्नीप्रसाद सापकोटाले सरकारको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता सापकोटाले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताएका हुन् । उनले बलियो सरकारले जन अपेक्षा अनुसार ‘निरन्तरतामा क्रमभंगताका साथ’ काम गर्न नसकेको स्पष्ट पारेका हुन् ।
जनताले असाध्यै अपेक्षा गरेको बलियो सरकारले मुलुकलाई सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, दण्डहिनता अन्त्यका लागि ठोस कदम चाल्न नसकेको नेता सापकोटाको भनाई छ ।
नेता सापकोटाले आगामी बस्ने स्थायी समिति बैठकले सरकारको कामको पनि समिक्षा गर्ने जानकारी दिए । पार्टीको संगठन एकीकरणसम्बन्धि विवाद टुंगो लगाउन स्थायी समिति बैठक छिट्टै बस्ने उनको भनाई थियो । नेता सापकोटाले आगामी मंसीर ६ गते बस्ने पार्टी सचिवालय बैठकले संगठन एकीकरणसम्बन्धि कार्य दलले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिने विश्वास व्यक्त गरे ।



















