सरकारको नेतृत्वमा बालेनप्रति पूर्ण विश्वास छ : रवि लामिछाने
वि.सं.२०८३ असार ७ आइतवार २१:३४
shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारीबारे पार्टीभित्र भएको समझदारी मजबुत रहेको बताएका छन्। उनले पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार अघि बढिरहेको उल्लेख गर्दै त्यसमा कुनै प्रकारको अन्योल वा अवरोध आउन नदिने प्रतिबद्धता व्यक्त गरे।
रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकारको नेतृत्व र कार्यसम्पादनको जिम्मेवारी बालेन शाहकै काँधमा रहेको बताए। उनले खेलकुदको भाषामा उदाहरण दिँदै पार्टीले नेतृत्वको अवसर बालेनलाई सुम्पिसकेको र अब परिणाम दिने जिम्मा पनि उनकै रहेको बताए।
उनले आफू सरकार सञ्चालनमा सहयोगी भूमिकामा रहने स्पष्ट पार्दै कुनै कारणले नेतृत्वको जिम्मेवारी वा निर्णय प्रक्रियामा भ्रम सिर्जना भए त्यसलाई पुनः सही दिशामा लैजाने दायित्व आफ्नो हुने बताए।
लामिछानेले पार्टीभित्र र बाहिर विभिन्न प्रकारका टिप्पणी, आलोचना र चलखेल हुने गरेको उल्लेख गर्दै आफू त्यसतर्फ केन्द्रित नभएको बताए। आफ्नो राजनीतिक यात्रा तत्कालीन प्रतिक्रिया वा आलोचनाको जवाफ दिनभन्दा पनि भविष्य र इतिहासप्रतिको जिम्मेवारी पूरा गर्न केन्द्रित रहेको उनको भनाइ थियो।
महाधिवेशनमा उनले पार्टी एकता, नेतृत्वप्रतिको विश्वास र साझा लक्ष्यप्रति प्रतिबद्धता दोहोर्याउँदै रास्वपाले जनतासँग गरेको परिवर्तनको वाचा पूरा गर्न सबै नेता–कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे।





























